काठमाडौं।

उजुरी दिनुपूर्व पीडित किशोरीका आमाबुवामा जुन डर थियो, आखिर त्यही भयो । छोरीमाथि नै अनेकन आरोप, लाञ्छना र प्रतिप्रश्न मात्रै गरिएन, चरित्र हत्यासम्म भए । तर उनीहरूले हार मानेका छैनन् । भन्छन्, ज्यान जाला, छोरीलाई न्याय दिलाएरै छोड्छौं । किनकी केसले धेरै छोरीहरुलाई बचाउने छ ।

२६ फागुन, पोखरा । आफ्नी नाबालिग छोरीमाथि पटक-पटक जबर्जस्ती करणी गरेको खुलेपछि अभिभावकले दिएको जाहेरीका आधारमा अभिनेता पल शाह हाल हिरासतमा छन् । उनीमाथि जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासी पूर्वले अनुसन्धान गरिरहेको छ, त्यसका आधारमा मुद्दा चल्ने, अदालतले फैसला गर्ने लामो प्रक्रिया बाँकी नै छ ।

तर कुनै महिलाले आफूमाथि परेको हिंसाविरुद्ध आवाज उठाउँदा कतिसम्म लाञ्छना र आरोप सहनुपर्छ भन्ने पनि उजागर गरेको छ । पीडित किशोरी उजुरी दिइसकेपछि चयनले बस्न पाएकी छैनन् । आरोपितको पक्षमा भएको नाराबाजी र छिनछिनमा अपडेट भइरहने भिडियो र अतिरञ्जित समाचारले बालिका र उनका अभिभावकलाई अत्याएको छ ।

अर्थात उजुरी दिनुपूर्व किशोरीका आमामा जुन डर थियो, आखिर त्यही भयो । छोरीमाथि नै अनेकन आरोप, लाञ्छना र प्रतिप्रश्न मात्रै गरिएन, चरित्र हत्यासम्म भए । उजुरी दर्तापछिको पहिलो हप्ता उनीहरुका लागि निकै तनावपूर्ण भए । अनावश्यक टीका टिप्पणीले भोग्नुपरेको मानसिक सास्तीको कुनै लेखाजोखा छैन ।

‘जता हेर्‍यो, उतै मेरै छोरीको नराम्रा कुरा काटेका छन् । यस्तो घटना परेकोलाई मात्रै पो थाहा हुँदोरहेछ,’ बालिकाकी आमाले अनलाइनखबरसँग भनिन्, ‘एक हप्ता त म रोएरै बिताएँ । यस्तो पनि हुँदो रै’छ भनेर थाहा पाएँ ।’ उनीहरूले बताएअनुसार उजुरी दर्ता गरिसकेपछि पनि आरोपितका तर्फबाट अनेकन प्रलोभन आइरह्यो । यसले मानसिक रुपमै विचलित बनायो । ‘ठूलै आत्मबल जुटाएर उजुरी दर्ता गरेका हौं । तर, उजुरीपछि पनि के-के भन्दै फोन आइरह्यो,’ पीडित किशोरीकी आमा भन्छिन्, ‘पक्राउ परेपछि भने फोन आएको छैन ।’

पीडितकी आमालाई सबभन्दा कमजोर महसुस त्यतिबेला भयो, जब आरोपितको पक्षमा नाराबाजी गर्दै चरित्र हत्या हुन थाल्यो । ‘हुने नहुने भन्न थालियो । बल्लबल्ल बोल्ने आँट गरेका थियौं । तर, हाम्रै गल्ती देखाएर हार्दिक श्रद्धाञ्जलीसम्म भनियो । त्यतिबेला झनै दुःख लाग्यो,’ उनी भन्छिन् ।

माघमा पहिलो पटक उजुरी दर्ताबारे बुझ्न जिल्ला प्रहरी कार्यालय, कास्कीमा पीडित बालिका एक्लै पुगेकी थिइन् । विभिन्न प्रलोभनमा आफूमाथि पटकपटक करणी भएको र त्यसमाथि पनि मानसिक हिंसा नै गर्न थालेपछि उनी अधिवक्ता टंकप्रसाद पौडेलको सहयोगमा प्रहरी कार्यालय पुगेकी थिइन् ।

त्यसबेला पीडित किशोरीका अभिभावक उजुरीका लागि तयार नहुनुको एउटै कारण थियो, ‘ठूलाको पछि धेरै मान्छे लाग्छन् । हामीलाई कसले हेर्छ र ?’

डर स्वभाविक पनि थियो । गाउँमा ५/६ वटा गाईभैंसी पालेर जीवन गुजारा गरिरहेको परिवारको बलियो खम्बा नै त्यही छोरी थिइन् । त्यहीबेला लडेर खुट्टा भाँच्चिएका कारण आमाले पसलसम्म दूध पुर्‍याउन समेत सकेकी थिइनन् । ‘गाईभैसीको दुध बेचेर, खेती किसानी गरेर खाने मान्छे हौं । हाम्रो भर यही कान्छी (पीडित किशोरी) हो,’ आमा भन्छिन्, ‘त्यसैले पनि डर लाग्यो ।’

किशोरी उजुरीका लागि प्रहरी कार्यालय पुगेपछि अभिभावक खोजे । तेस्रो दिनमा आमाबुवासँगै प्रहरी कहाँ पुगिन् । त्यतिबेला पनि उनका बुवाआमा उजुरी दर्ता गर्न हिच्किचाइरहेका थिए । घटना गम्भीर भएको र पीडितलाई न्याय दिन पनि घटनाविरुद्ध लड्न सुझाउनै प्रहरीलाई ४ घन्टाभन्दा बढी लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर