एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले तनहुँ प्रहरी कार्यालयलाई अनुमति दिएको छ । शुक्रवार शाहलाई प्रहरीले म्याद थप गर्नका लागि अदालत पेश गरेको थियो । प्रहरीले अझै अनुसन्धान नसकिएको भन्दै म्याद बढाउन गरेको निवेदनलाई जिल्ला अदालतले सदर गरेको हो ।
यसअघि तनहुँ अदालतले पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतले दोस्रो पटक १२ दिन म्याद थप गरेपछि शाहलाई तनहुँबाट अनुसन्धानका लागि नवलपरासी पनि लगिएको थियो । नाबालिगले तनहुँपछि नवलपरासी प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जबर्जस्ती बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् ।
नाबालिगले दिएको जाहेरीको आधारमा पल शाहविरुद्ध बिहीवार जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भइसकेको छ । १८ वर्षमुनिका बालिकासँग राजीखुसीमा शारीरिक सम्बन्ध राखे पनि जबर्जस्ती करणी हुने कानुनी व्यवस्था भएकाले १२ देखि १४ वर्ष सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्धा दर्ता गरेको हो ।
नाबालिगले शाहमाथि ललाई-फकाई गरी पटक-पटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । तर, पलले भने प्रहरीसँगको बयानमा नाबालिगसँग न प्रेम सम्बन्ध न शारीरिक सम्बन्ध राखेको बताएका छन् । यद्यपि, जिल्ला अदालत नवलपुरमा दायर भएको अभियोग पत्रमा रहेको उनको बयानमा उनले नवलपरासीको रिसोर्टमा साढे ११ बजे नाबालिगको कोठामा गएको स्वीकारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर