काठमाडौं ।

आइतबार बिहानदेखि बेपत्ता भएको नेपाल तारा एयरलाइन्सको विमान फेला परेको छ ।दुर्घटनामा परेर सवार सबैको मृत्यु भएको बताइएको छ । उनीहरुको नाम पनि सार्वजनिक गरिएको छ ।

नेपाली सेनाको खोज तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेको हो । सेनाले दुर्घटनाग्रस्त विमानको तस्वीर पनि शेयर गरेको छ ।

मुस्ताङको सानोस्वेयर क्षेत्रमा विमानको भग्नावशेष फेला परेको हो । पोखराबाट जोमसोमका लागि बिहान ९ः५५ मा उडेको विमान केही समयपछि बेपत्ता भएको थियो ।

३ जना चालक दलका सदस्य सहित कुल २२ जना थिए । जसमध्ये ४ जना भारतीय थिए । विमान ४३ वर्ष पुरानो थियो ।नेपाली सेनाले आइतबार साँझ लम्ची नदीको किनारमा विमान दुर्घटना भएको स्थानीयले बताएका थिए । लम्ची मुस्ताङ जिल्लाको मानापाथी क्षेत्रको नदी हो ।

आइतबार निकै खराब मौसमका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको थियो । उक्त क्षेत्रमा हिमपात र पानी परेको थियो । त्यसैले सोमबार बिहानैदेखि खोजी सुरु गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानका क्याप्टेनको मोबाइल फोन अन थियो । त्यसको लोकेशन ट्रेस गर्दा विमानको लोकेशन पनि फेला परेको थियो । तर, खराब मौसमका कारण घटनास्थल पुग्ने सबै प्रयास असफल भए ।

विमानमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार, मिल ग्रान्ट, बसन्त लामा, गणेश नारायण, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, रम्याङ तामाङ, सुकुम्या तामाङ, तुलसादेवी तामाङ र युवी विल्नर सवार हुनुहुन्थ्यो ।

चालक दलका सदस्यहरूमा क्याप्टेन प्रभाकर घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेस किश्मी थापा सवार रहनु भएको थियो । विमानमा सवार भारतीय नागरिकहरु अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र वैभवी हुनुहुन्थ्यो ।

नेपालस्थित भारतीय दूतावासले हेल्पलाइन (९७७–९८५१११०७०२१)नम्बर जारी गरेको छ ।नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले आइतबार भन्नु भएको थियो, ‘मुस्ताङका लागि एमआई–१७ हेलिकप्टर पठाइएको छ ।’

गृहमन्त्रालयका प्रवक्ता फदिन्द्रमणि पोखरेलीले आइतबार भन्नुभयो, ‘विमान खोज्न मुस्ताङ र पोखरामा दुईवटा हेलिकप्टर तैनाथ गरेका छौँ ।’जानकारी अनुसार तारा एयरलाइन्सको यो ट्वीन इन्जिन विमान ४३ वर्ष पुरानो थियो । गत वर्ष पनि सोही जहाजको एउटा विमान दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर